तलब भत्ता सबै समाज सेवामा

‘जनप्रतिनिधिले सेवा सुविधा मात्र खोज्छन् । उनीहरूलाई बढी भन्दा बढी तलब भत्ता मात्र चाहिन्छ’, भन्ने अभिव्यक्ति नेपालगन्जका नगर प्रमुखको हकमा ठीक विपरित हुन्छ । राणाले पाँच वर्षे कार्यकालमा आफ्नो सबै तलबभत्ता समाज सेवामा खर्च गर्नुभएको छ । ०५४ मा नेपालगन्ज नगरपालिकाको पहिलोपटक नगर प्रमुख बन्दा आफूले पाउने पारिश्रमिकबाट मानवीय कार्य र दीनदुःखीलाई वितरण गरी सहयोग गर्नु भएको थियो । उहाँले भत्ताको रकमबाटै भेरी अस्पतालमा प्रतिक्षालय पनि निर्माण गर्नुभएको थियो । जुन भेरीको इमरजेन्सीको अगाडि छ ।

नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखको उम्मेदवारी घोषणा गर्दा पनि उहाँले तलब भत्ता सेवामा खर्च गर्ने घोषणा गर्नुभयो र निर्वाचित भइसकेपछि मासिक ५० हजार रुपैयाँका दरले समाजसेवाका क्षेत्रमा सहयोग गर्नुभएको छ । नेपालगन्जको नीलसागर असहाय, अशक्त तथा ज्येष्ठ नागरिक केन्द्र, गुरुद्वारा, ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालय राजयोग केन्द्र, वाल्मिकी समाज, कसौधन वैश्य समाज, विश्वकर्मा मन्दिर, सत्य निरंकारी मण्डल, मानव धर्म सेवा, एमबीबीएस अध्ययनरत खजुराकी प्रतिमा शर्मा लगायतका दर्जनौ संघसंस्था र गरीब तथा असहायको लागि खर्च गर्नुभएको छ ।

आफूले पाउने मासिक तलब भत्ता उहाँले विभिन्न रचनात्मक काममा खर्चिरहनुभएको छ । धेरै जनप्रतिनिधिहरूले भ्रष्टाचार तथा अनियमितता गरेका समाचारहरू आइरहेका बेला उहाँमा कुनै किसिमको लोभ लालच र स्वार्थ देखिँदैन । उहाँको सदाचारी शै लीकै कारण नेपालगन्जमा भ्रष्टाचार हुन पाएको छैन । ‘जनताको सेवा गर्न राज्यबाट पैसा लिनुहँुदैन भन्ने मेरो मान्यता रहेको छ’, डा. राणा भन्नुहुन्छ, ‘नेताहरू भ्रष्ट हुन्छन् भन्ने बुझाइलाई तोड्न आवश्यक छ ।’