मधेसी र मुस्लिम छोरीका लागि छात्रा विद्यालय

नेपालगन्ज–४ सल्यानीबागमा छात्रा विद्यालय छ । २०२२ सालमा सल्यानीवागमा स्थापना भएको आधारभूत विद्यालयलाई ०७६ साल वैशाखदेखि मधेसी र मुस्लिम समुदायका छोरीलाई लक्षित गरेर छात्रा विद्यालयमा रुपान्तरण गरिएको नगर प्रमुख डा. धवलशम्सेर राणा बताउनुहुन्छ । राणा छात्रा विद्यालयको औचित्य प्रष्ट पार्दै भन्नुहुन्छ, ‘मधेशी तथा मुस्लिम समुदायमा अझै पनि छात्र पढ्ने विद्यालयमा बालिका पठाउन अभिभावकहरू अनिच्छुक पाइएकाले उपमहानगरपालिकाले छात्रा विद्यालय सञ्चालनमा ल्याएको हो ।’ मधेसी र मुस्लिमलाई लक्षित गरे पनि विद्यालयमा सबै समुदायका छात्रा पढ्न पाउँछन् । पढिरहेका छन् । विद्यालयको भवन निर्माण र मर्मत गर्न उपमहानगरपालिकाले ९० लाख रुपैयाँमा खर्च गरेको थियो । नगरमा २०११ सालदेखि छात्रा मात्र पढ्ने सरस्वती मा.वि. एउटा मात्र विद्यालय थियो ।

केटाहरू पढ्ने स्कुलमा छोरीहरूलाई अर्काको घर जाने, प्रेम गर्ने भागेर विवाह गर्ने, अन्तरजातीय विवाह गरिदिने, चाँडै विवाह गर्ने, केटाहरूले जिस्काउने भएका कारण छात्रा विद्यालयमा छोरी पढाउन थालेका छन् । मुस्लिम समुदायमा नमाज पढ्दा उर्दु भाषा आवश्यक पर्ने भएकाले पनि मुस्लिम समुदायले छोरीहरूलाई छात्रा विद्यालयमा पढाउन थालेको उर्दु भाषी शिक्षक आरविदा जमालको तर्क छ । उर्दु भाषा सिक्न ट्युसन पढ्ने समय र पैसाको बचत भएकाले अभिभावकहरूको आर्कषण बढेको उहाँले बताउनुभयो । विद्यालयको शैक्षिक सुधारका लागि धम्बोझी माविकी पूर्व प्रधानाध्यापक किरण आचार्यलाई उपमहानगरपालिकाले परामर्शदाता नियुक्त गरेको छ । आचार्यले विद्यार्थी केन्द्रित पढाईमा जोड दिएको बताउनुभयो । विद्यालयमा नगरपालिकाको अनुदानमा दिएका १० वटा कम्प्युटर पनि छन् । उप–महानगरपालिकाले छात्राहरूलाई साइकल पनि वितरण गरेको छ । सामुदायिक विद्यालय भएकाले निःशुल्क पढाई हुने र विद्यालयले प्रोत्साहनका कार्यक्रम (स्कुल ड्रेस, कापी कलम लगायतका छात्रवृत्ति) को व्यवस्था गरेको छ ।