नगरमा १०० किलोमिटर सडक कालोपत्रे

५ वर्षमा नेपालगन्जका मुख्य विकास निर्माण
सहरी पूर्वाधार भनेको सडक, यातायात, खानेपानी, विजुली हो । नेपालगन्ज उपमहानगरपालिकामा पूर्वाधार निर्माणमा सबैभन्दा धेरै विकास भएको भनेकै सडक हो । सहरका टोल र गल्लीसम्म पक्की, पीसीसी, इँटा सोलिङ र ग्राभेल सडक बनेको छ ।

विगतमा साँघुरो बाटो र फोहर मानिने नेपालगन्ज चिल्लो सडकले अहिले मुहार नै फेरिएको छ । सुर्खेत रोडको सडक त फोरलेनकै छ । नगरमा सहरी विकास मन्त्रालय, एडिबी र उपमहानगरपालिकाको बजेटमा पाँच अर्बको एक सय किलोमिटर त पक्की सडक (कालोपत्रे) मात्र बनेको छ । पक्की सडकको दुबै किनारमा झन्डै २०० किलोमिटर पक्की नाला बनेको छ । वडाको बजेटबाट समेत कालोपत्रे, पीसीसी र ग्राभेल सडक पनि झन्डै अर्को एक सय किलोमिटर बनेको छ । नेपालगन्ज नगरपालिका जनप्रतिनिधिविहिन भएपछि भौतिक पूर्वाधार विकास त भएनन्, भएनन् । बनेका पूर्वाधारको पनि उचित मर्मत सम्भार हुन सकेको थिएन । नगरमा धेरैजसो विकास त गएको ५ वर्षमै भएको छ।