नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्जमा मंगलप्रसाद महिला कलेज स्थापना गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादवराज कोइराला, प्रदेश सांसद आइपी खरेल, नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा.धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतले ७ वैशाख ०७९ मा कलेजको संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो । नगर प्रमुख डा.धवल शम्शेर राणा मधेसी र मुस्लिम समुदायको बाक्लो बसोबास रहेका कारण यहाँ छात्रा विद्यालय र कलेजको आवश्यकता रहेको बताउनुहुन्छ । ‘छात्रा विद्यालयपछि महिला कलेज निर्माण गरिएको हो । मधेसी र मुस्लिम छात्राहरूलाई लक्षित गरेपनि सबै छात्राले अध्ययन गर्न पाउनेछन्’, उहाँ भन्नुहुन्छ, । ‘कलेज आफैंमा आत्मनिर्भर नभएसम्मका लागि नगरबाट आवश्यक सबै सहयोग प्राप्त हुनेछ ।’
उपमहानगरपालिकाले करिब ८ करोड रुपैयाँको लागतमा महिला कलेजको ४० कोठे भवन निर्माण गरेको छ । जसमा १४ कोठाको छात्रावास पनि छ । कलेजमा कम्प्युटर ल्याब पनि छ । कलेजमा व्यवस्थापन संकायतर्फ बीबीए, बीबीएस, कानुन संकायमा ५ वर्षे बिए एलएलबी, शिक्षा संकायममा ४ वर्षे बिएड र विज्ञानतर्फ ४ वर्षे बीसीए र बीआइटी कक्षा सञ्चालनका लागि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनको प्रक्रिया सुरु गरेको क्याम्पस प्रमुख रविन्द्र कर्णले जानकारी दिनुभयो ।
कलेज सञ्चालनका लागि मधेसी आयोगका सदस्य विजय गुप्ता अध्यक्ष रहेको ११ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ । सञ्चालक समिति सदस्यहरूमा रविन्द्र कर्ण, अनिता शाह, मैमूना सिद्धिकी, नमस्कार शाह, कौशलकुमार धोवी, मो. खालिद इकवाल इराकी, चन्द्रशेखर पाण्डे, दिपाली टण्डन गुप्ता रहनुभएको छ । नगर प्रमुख डा. राणाको संयोजकत्वमा डा. एम किदवाई, डा.कौशलकुमार वर्मा, परवेज अली सिद्धिकी र शशी स्वाँर रहेको सल्लाहकार समिति गठन गरिएको छ ।