नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुरमा ४ विगाहा १० कठ्ठा क्षेत्रफलमा रहेको बसपार्क २०७६ असोजदेखि सञ्चालनमा आयो । १६ करोड १६ लाख लगानीमा युनाइटेड विल्डर्सले बसपार्क निर्माण गरेको हो ।
नेपालगन्ज बसपार्कमा १२३ ठूला बस र ५६ साना बस राख्ने क्षमता रहेको छ । बसपार्कभित्र टर्मिनल भवन, सपिङ बिल्डिङ, शौचालय, चमेना गृह, पक्की पार्किङ क्षेत्र निर्माण गरिएको छ । बसपार्क नगर विकास कोषसँगको लगानीमा निर्माण भएको हो । ५ प्रतिशत अनुदान र बाँकी ऋणमा बसपार्क निर्माण गरिएको हो । २०७६ साल असोजमा नेपालगन्ज बसपार्कको स्वरुपै फेरियो । विगतमा जीर्ण र कुरुप भएर नेपालगन्जलाई नै गिज्याइरहेको बसपार्क अत्याधुनिक बनेपछि गर्व गर्न लायक बनेको छ । जनप्रतिनिधि आएपछि गौरव गर्न लायक बनेका धेरै संरचना मध्ये नेपालगन्ज बसपार्क पनि एक हो ।